Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको फोटो राखेर ‘टिकटक गर्ल’ नामक प्रोफाइल बनाइ सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पार्ने र ब्ल्याकमेल गरेर रकम असुल्ने गिरोहको पर्दाफास भएको छ।
घटनाको सुरु हुन्छ गत चैतमा, जब अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीले फेसबुकमा ‘टिकटक गर्ल’ नामको प्रोफाइलबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकारे। सुरुमा सामान्य गफगाफ हुँदै एक सातापछि उनीहरू ठमेलमा कफी खाँदै भेटिन्छन्। त्यसपछिको दोस्रो भेटमा भने ठमेलको एक रेष्टुरेन्टमा मदिरा सेवन गराइन्छ र ती कर्मचारी अचेत अवस्थामा पुग्छन्।
ब्ल्याकमेलको स्वरुप यति भयावह थियो कि ती कर्मचारीलाई काठमाडौंमा घर वा चार आना जग्गा दिन दबाब दिइन्छ।
अचेत भएपछिको अवस्था उनी सम्झिन सक्दैनन्। केही दिनपछि अर्को नयाँ फेसबुक आइडीबाट उनीसँग पुनः सम्पर्क हुन्छ। त्यसपछि अर्धनग्न अवस्थामा खिचिएको फोटो र भिडियो म्यासेन्जरमा पठाएर ब्ल्याकमेल सुरु हुन्छ।
ब्ल्याकमेलको स्वरुप यति भयावह थियो कि ती कर्मचारीलाई काठमाडौंमा घर वा चार आना जग्गा दिन दबाब दिइन्छ। 'घर नदिए बलात्कारको मुद्दा हालेर फसाइदिन्छु,' भन्ने म्यासेजहरू आउँछ। साथै दुई जना पुरुषहरू समेत सम्पर्कमा पुगेर धम्की र फकाउने प्रयास गर्छन्— एकले डर देखाउँछ, अर्काले 'थोरै रकम तिरे मिलाउँछु' भन्ने प्रस्ताव राख्छ।
यस्तो मानसिक त्रास र दबाब सहन नसकी ती कर्मचारीले अन्ततः काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहयोग लिन्छन्। प्रहरी योजनाअनुसार ती कर्मचारीले ‘टिकटक गर्ल’लाई ५ लाखको चेक दिन सहमति गर्छन् र हनुमानस्थानमा चेक दिने क्रममा ममता तामाङ र आँचल श्रेष्ठ पक्राउ पर्छन्।
पक्राउ परेका व्यक्तिहरूको योजना स्पष्ट रूपमा आपराधिक लाभको उद्देश्यले युवतीको फोटो प्रयोग गरेर पुरुषहरूलाई फसाउने, अश्लील सामग्री खिच्ने र त्यसको माध्यमबाट ब्ल्याकमेल गरेर रकम असुल्ने रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको मोबाइल र ५ लाखको चेक बरामद गरेको छ।
यो घटना नेपालमा सामाजिक सञ्जालको दुरुपयोग, बढ्दो यौनिक ब्ल्याकमेलिङ र विकृत सोचले जरा गाडिरहेको हनी ट्र्याप गिरोहको प्रत्यक्ष उदाहरण हो। अनुसन्धान अधिकारीहरूका अनुसार यी महिलाहरूले ती कर्मचारीलाई अर्धनग्न अवस्थामा ल्याएर फोटो र भिडियो खिचेपछि सँगै सुतेको नाटक गर्दै छाडेका थिए।
दुई पुरुषको पहिचान भइसकेको र उनीहरूलाई समेत पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताइएको छ। पक्राउ परेका महिलामध्ये एकजना विवाहित थिइन् र हाल सम्बन्धविच्छेद भइसकेकी हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij