Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा मुलुककै पहिलो ‘फ्लाइओभर’ निर्माण सुरु भएको छ। सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण गरिने स्थलको कालोपत्रे उप्काएर ‘ग्रेट सेप्रेटेड इन्टरसेक्सन’को शनिबार निर्माण सुरु गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार ‘फ्लाइओभर’ निर्माणसँगै सो क्षेत्रमा हुन सक्ने ट्राफिक जाम व्यवस्थापनका लागि समेत सुरु गरिएको छ। ट्राफिक व्यवस्थापन तथा सजिलोका रूपमा सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको छ।
फ्लाइओभर निर्माण सम्पन्न नहुन्जेलसम्म बिहान ६ गतेदेखि कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिने भएको छ।
त्यसैगरी कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij