
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना दुई चिकित्सकले ज्यान गुमाएका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय डा.सुशील श्रेष्ठ र उनकी श्रीमती डा.सोना दिवारकको मृत्यु भएको हो ।
उनीहरूका १० महिनाको छोराको पनि मृत्यु भएको छ । श्रेष्ठ अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन् । उनी ट्रमा सेन्टरमा ६ वर्षदेखि काम गर्दै आएका थिए ।
उनीहरू आफ्नो बच्चाका साथ पोखरा घरमा छुट्टी मनाउन गएका थिए । डा.दिवारक भने बच्चा जन्मिएपछि काम छाडेर बसेकी थिइन् । उनी एमडी अध्ययनको तयारीमा थिइन् ।
उनका सहकर्मी डा.खुल्दिप मङ्गल जोशीका अनुसार डा.श्रेष्ठ मिलनसार थिए । उनी एमबीबीएस पढ्दादेखि नै पढाइमा अब्बल थिए ।
शनिबार किष्ट मेडिकल कलेजमा भएको स्पाइनको कार्यक्रममा पनि डा. जोशी डा. श्रेष्ठसँगै सहभागी थिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रूपमा समेत काम गरेका थिए । उनले काठमाडौँ मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij