
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । सप्तरीमा चिसोले कठ्यांग्रिएर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हाका ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् ।
यो घटनासँगै यस वर्ष चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । विगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठ्यांग्रिएर मृत्यु भएको स्थानीय बताउँछन् ।
चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको थियो । मृतक परिवारलाई खान लगाउनसमेत समस्या रहेको थियो । विगत केही समय यता सप्तरीसहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर भइराखेको छ ।
चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयसमेत बन्द गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले चोक तथा सार्वजनिक स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीया देवु सदाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij