
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । धापाखेलस्थित ललितपुर महानगरपालिका वडा–२३ को नवनिर्मित भवनको आज औपचारिक उद्धघाटन गरिएको छ । करिब चार करोड लगानीमा बनाइएको अपाङ्गमैत्री सो भवनको उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले आज शुक्रबार एक कार्यक्रमका बीच पानसमा बत्ती बालेर औपचारिक उद्धघाटन गरेकी हुन् ।
मन्त्री भुषालको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिमा बाग्मती प्रदेश सांसद् देवकी श्रेष्ठ, प्रदेश सदस्य राजकाजी महर्जन, दिपेश महर्जन, लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, उप–मेयर गिता सत्याललगायत रहेका थिए ।
विभिन्न अप्ठेरा परिस्थतिहरु झेल्दै आफूले सो भवनको औपचारिक उद्धघाटन गर्न पाउँदा निकै खुसी भएको सो वडाका अध्यक्ष भुयूकाजी महर्जनले बताएका छन् ।
यस्तै,सो कार्यक्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि मन्त्री भुषालले पाचँ वर्षको बीचमा जनताको घरआँगनमा भौतिक पूर्वाधारलगायतका विकास कार्य सम्पन्न भई ‘गाउँगाउँमा सिंहदरबार’ सार्थक भएकोमा खुसी भएको बताएकी छन् ।
उनले भनिन्, ‘आफूले प्रत्यक्ष रुपमा भवन निर्माणमा ४८ लाख सहयोग गर्न पाउँदा र यो सुन्दर भवन निर्माण भएकोमा निकै खुसी छु । अब गाउँगाउँमा सिंहदरबार भन्ने नारा यहाँ सार्थक भएको छ, अब काम पनि गुणस्तरीय र जनमैत्री हुनुपर्दछ ।
कार्यक्रममा बोल्दै मेयर महर्जनले राम्रो काम गर्नको लागि भौतिक पुर्वाधार तथा कार्यलय पनि राम्रो हुनुपर्ने कुरालाई जोड दिँदै अत्याधुनिक भवनमा काम पनि अत्याधुनिक हुनेमा विश्वस्त रहेको बताएका छन् । उनले भने,‘दुलही जस्तै चिटिक्क सिङ्गारिएको भवन निर्माण सम्पन्न भएको छ । अब काम पनि चिटिक्कको हुन्छ भन्नेमा विश्वस्त छु ।’
आफूहरुले उल्लेख्य काम गरेको बताउँदै मेयर महर्जनले कतिपय कुरामा आफूहरुले फगत गाली खानु परेको समेत बताएका छन् । केन्द्रीय सरकारको जिम्मामा रहेका कामहरु प्रभावकारी रुपमा समयमै सम्पन्न हुन नसक्दा आफूहरुले गाली खेप्नु परेको समेत उनको भनाई छ ।
एउटै किलोमा दुईओटा गोरु बाध्दा जुध्ने बताउँदै स्थानीय सरकारले गर्नुपर्ने काममा केन्द्रीय सरकारले हस्तक्षप गर्नुनहुने समेत जनाएका छन् । उनले आफूहरुसँग प्रसस्त मात्रामा बजेट भइकन पनि विकास गर्न नपाएको भन्दै यसको लागि केन्द्रीय सरकार समक्ष पत्र समेत पठाएको तर त्यसको जवाफ नआएको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij