Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर/ नेपाली काँग्रेस ललितपुरले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिषयमा छलफल गर्नका लागि अन्तरक्रिया आयोजना गरेको छ । काँग्रेसले फागुन २२ गते आइतबार सातदोवाटोस्थित वेरी व्याङ्क्वेटमा उक्त अन्तरक्रिया आयोजना गरेको हो ।
आइतबार बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा काँग्रेस महामन्त्री गगनकुमार थापा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोबिन्दराज पोखरेलले एमसीसी परियोजना, यसबाट नेपाललाई हुने लाभ, परियोजनाका बिषयमा भएका भ्रमहरु र यथार्थताका बिषयमा काँग्रेसका कार्यकर्ताहरुलाई स्पष्ट पार्ने कार्यक्रम रहेको काँग्रेस ललितपुरका प्रचारप्रसार संयोजक जितेन्द्र महर्जनले अनलाइन पत्रिकालाई जानकारी गराए ।
यही फागुन १५ गते संघीय संसदको प्रतिनिधिसभा बैठकबाट पारित भएको एमसीसी परियोजनाका बिषयमा जनताहरुमा रहेको भ्रमलाई चिर्नका लागि काँग्रेस ललितपुरले उक्त अन्तरक्रिया गरेको नेपाली काँग्रेस ललितपुरका जिल्ला सदस्य गणेशकुमार महतले जनाए ।
कार्यक्रममा नेपाली काँग्रेस ललितपुरका जिल्ला तहका नेता, पदाधिकारीहरु, समिति, उपसमितिका सदस्यहरु, क्षेत्रीय समिति, उपसमितिका नेता तथा कार्यकर्ताहरु, वडा सभापतिहरु तथा भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुने जिल्ला सदस्य महतले जनाए ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट निर्वाचित जिल्ला कार्यासमितिले काँग्रेसका कार्यकताहरुमाझ निरन्तर भेटघाट र छलफललाई निरन्तरता दिएको छ । एमसीसीमाथिको छलफल पनि यही प्रक्रिया अन्तर्गतको एउटा श्रंखला भएको जिल्ला सदस्य उद्दव दाहालले वताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij