
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गर्दै विपक्षीको विरोधलाई गम्भीरतापूर्वक नलिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “हाम्रा नीतिहरू सही छन्, ढुक्क भएर अगाडि बढ्नुस्। विपक्षीले जे गरे पनि विरोध गर्नैपर्छ भन्ने ठान्छन्, कुनै एक बुँदा पनि समर्थन गर्दैनन्,” ओलीले भने ।
उनले विपक्षीले सही कुराको विरोध गरे पनि त्यस्तो विरोध उनीहरूको नाममा भविष्यसम्म रेकर्ड हुने र पछिल्लो पुस्ताले समेत त्यसको मूल्यांकन गर्ने जिकिर गरे ।
“गलत बोलेको कुरा रेकर्डबाट हटाउनु हुँदैन, किनभने पछिल्ला पुस्ताले हाम्रा पुर्खाले के बोले भनेर थाहा पाउनुपर्छ,” उनले थपे ।
प्रधानमन्त्री ओलीले सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरूलाई गहन अध्ययन गरी स्पष्ट र बलियो ढंगले प्रस्तुत हुन आग्रह गरे। “बोल्दा कुनै चिप्लिने कुरा नहोस्, बुँदाहरू लेखेर जाँदा कुनै कुरा छुट्दैन र व्याख्या गर्न सजिलो हुन्छ,” उनले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij