
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं/ संघीय संसदको प्रतिनिधिसभामा फागुन ८ गते आइतबार टेबल भएको अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) माथि भोली १५ गते आइतबार संसद बैठकमा छलफल हुने भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी माथिको छलफललाई दोस्रो नम्बर एजेण्डामा समावेश गरिएको छ । उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।
भोली दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ । दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।
यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठक स्थगित भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij