Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भैरहवामा मंगलबार पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थी र रंगशालाभित्र रोलरले च्यापिँदा एक नाबालकको मृत्यु भएको छ । मृतकमध्ये एक जना १४ महिने बालक र दुई जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा डेरा गरी बस्दै आएका १६ वर्षीय सुरज गुप्ता छन् ।
उनीहरू साथी रहेको प्रहरीले जनाएको छ । गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए भने चौधरी लिलाराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।
प्रहरीका अनुसार डुबेको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगे पनि दुवै जनाको मृत्यु भइसकेको थियो । प्रहरीले डुबेकै अवस्थामा उनीहरूको शव बाहिर निकालेको जनाएको छ । भीम अस्पताल भैरहवामा पोस्टमार्टमपछि एक जनाको शव हिजै मंगलबार र अर्का एक जनाको शव आज बुधबार परिवारले बुझेका छन् ।
यसैगरी, सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रंगशालाभित्र मिनी रोलरले च्यापिँदा १४ महिने आयुष बुढाको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका–७ घर भई हाल रुपन्देहीमा बस्दै आएका नमु बुढाका छोरा आयुष सोमबार साँझ रंगशालाभित्र दुर्घटनामा परेका थिए ।
प्रहरीका अनुसार रंगशालामा मजदुरी गर्दै आएका नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा रोलरको ह्यान्डिल चलाउँदा चापी खुला अवस्थामा रहेको मिनी रोलर अचानक गुडेको थियो । त्यसक्रममा १४ महिने आयुष रोलरले च्यापिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पतालमा मृत्यु भएको हो ।
रोलरको चापी लापरबाहीपूर्ण रूपमा खुला छाडेको आरोपमा रोलर चालक सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिनेश कुँवरले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij