काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोपको १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ। सेरम इन्स्टिट्युट अफ इन्डियाबाट उत्पादिन १० लाख डोज खोप कोभिसिल्ड खोप नेपाल ल्याउन लागिएको हो । खोप आज दिउँसो १ स् ३० को एयर इन्डिया विमानमार्फत काठमाडौं ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भण्डारण गरिनेछ । मन्त्रालयका अनुसार यही फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने छ ।
नेपाल सरकारले कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि गरेको सम्झौताअनुसार १० लाख डोज खोप नेपाल ल्याउन लागिएको हो । बाँकी खोप पनि चाँडै प्राप्त हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यसअघि नेपालले यही खोप भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो ।