
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१.प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गर्नुभएका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।
२.नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छन् । शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएको प्रसंगमा श्रेष्ठमाथि दबाब बढेको बेला उनले आफ्नो स्वास्थ्यको कारण देखाउदै पार्टीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । उनले अस्वस्थताका कारण पार्टी को अन्तरिम बिधान २०७८ को धारा २० को उपधारा ९ बमोजिम जिम्मेवारी प्रदान गरिएको जानकारी गराएकी छन् ।
३.नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रमा देखिएको प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको बताएको छ । प्राधिकरणले आइतबार विज्ञप्ति जारी गर्दै पश्चिम चितवन र माडी क्षेत्रमा आजदेखि ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना जारी भएपछि प्राविधिक समस्यालाई लिएर ‘लोडसेडिङ’ को भ्रम फैलाउन खोजेको आरोप लगाएको हो । प्राधिकरणले बसेनी १३२ केभी सबस्टेशनबाट चनौली सबस्टेशनसम्म नयाँ ३३ केभी लाइनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी दुई-तीन दिनभित्र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित हुने बताउदै वर्षाको समयमा अपेक्षाकृत पानी नपर्दा सिंचाइ मागमा आएको वृद्धिका कारण लाइन र ट्रान्सफर्मर व्यवस्थापनका लागि तालिका सार्वजनिक गरिएको स्पष्ट गरेको छ ।
४.नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.४४ अंकले घटेर २९६४. २० विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
५.जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले पार्टीको केन्द्रीय विभाग र जनवर्गिय संगठनका प्रमुखहरुलाई पार्टीको मुद्दा, नीति र सिद्धान्त बोकेर जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केन्द्रीय विभाग र जनवर्गिय संगठनका प्रमुखहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावी तयारी र जनताका बीच पार्टीको एजेण्डा र मुद्दा बोकेर आमजनताको घरघरमा पुगेर प्रष्ट पार्न निर्देशन दिएका हुन् । अध्यक्ष यादवले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नु पर्ने बताए ।
६.प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए । दरबार हत्यकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई जेल हालेको उनले स्मरण गरे । सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुसीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने काम भएको उनले बताए । बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट साहित्यिक विधातर्फ बैरागी काइँला, भुवन ढुङ्गाना र राजनीतिक दर्शन विधातर्फ मीना सुब्बा तथा नयनसिंह कडायत पुरस्कृत भएका थिए ।
७.अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ। विशेष अदालत, काठमाडौँले वाइडबडी प्रकरणमा राईलाई मुद्धा नचलाएको बारे प्रश्न उठाएको विषयमा छानबिन गर्न भन्दै युवराज पौडेल सफलले अख्तियारमा मुद्धा दर्ता गरेका हुन् । दर्ता गरिएको उजुरीमा राई आपूर्ति मन्त्रालयको सचिव हा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत मुछिएकोले छानबिन गर्न आग्रह गरिएको छ ।
८.सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, सिंचाई विभागका महानिर्देशक संजिव बराल लगायत सहसचिव, उपसचिव तथा प्रविधिकहरूसँग छलफल गर्दै मधेश प्रदेशका आठ जिल्लामा सिंचाई र खानेपानीको समस्या समाधानमा केन्द्रित हुन स्पष्ट निर्देशन दिए ।
९.ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक १६ दिनका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिकाका अनुसार शनिवारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङदेन सडक खण्ड अन्तर्गत मेरिङदेन गाउँपालिका वडा नं. ४, लिङतेप र ५, थुकिमाको बिच सिमाना भई बग्ने मुङ्वाखोलामा मेवा डेभलोपर्स हाइड्रोपावर लिमिटेड द्वारा होम पाईप सेटिङ र ढलान कार्य भइरहेकोले उक्त समय अवधिभर सडक बन्द गर्नुपरको गाउँपालिकाले जनाएको छ ।
१०.खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् । विभिन्न माग राख्दै सिंहदरबारको दक्षिण गेटमा कपाल मुण्डन गरेर सत्याग्रह बस्न खोजेपछि मेयर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर माइतीघरमा छाडेको छ । उनले अहिले माइतीघरमैसत्याग्रह शुरु गरेका छन् । उनले स्थानीय स्रोत, सामाग्री र उत्पादनको प्रवर्द्धन, बजारीकरणका लागि सरकारले कानुन बनाए पनि कार्यान्वयन नगरेको भन्दै सत्याग्रह गरेको बताएका छन् । भट्टराई शिर मुण्डन गरेर खाली खुट्टा, मुखमा पट्टी बाँधेर बाँसको घनासहित सत्याग्रहमा बसेका छन् ।
११.नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक कुलिङ अफ पिरियडको भूत जागेको टिप्पणी गरेका छन् । सांसद भट्टराईले विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? भन्दै प्रचण्डलाई प्रश्न सोधेका हुन् । उनले भनेका छन्: तपाईंले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रम केपी ओलीलाई समेत छानबीन गर्नु पर्ने भनेर मंतव्य दिनु भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । निम्न विषयमा तपाईको ध्यानाकर्षण सहित जवाफको अपेक्षा गर्दछु । हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नु पर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अड़ानमा कायम छौ । तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा “प्रचण्ड” अड़ानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मंत्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो। जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।
१२.नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९४ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर २२९० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २३४० मा कारोबार भएको थियो ।
१३.बेलायत सरकार (एससीडीओ) अन्तर्गत सञ्चालित 'रेन' कार्यक्रममार्फत स्टार्ट फण्ड नेपाल परियोजनाले पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा, र सप्तरी जिल्लाका अति प्रभावित १० पालिकामा ६० दिने आपतकालीन कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम कुल २ करोड ६० लाख ३३ हजार ४७६ बजेट रहेको छ । नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, नेपाल सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणाको निर्णयपश्चात्, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्टार्ट फण्ड नेपाल परियोजनाले यो कार्यक्रम गर्ने भएको हो ।
१४.पोर्चुगलका २५ बर्षिय अट्याकिङ मिडफिल्डर जोआओं फेलिक्स अल नासर जाने निश्चित भएको छ । आफ्ना सहकर्मी क्रिस्टियानो रोनाल्डोले फेलिक्सलाई अल नासरमा भित्र्याउन पहल गरेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल प्रिमियर लिग क्लब चेल्सीमा रहेका फेलिक्सले गत सिजनमा इटालियन क्लब एसी मिलानमा लोनमा खेलेपनि उनको प्रदर्शन राम्रो हुन सकेको थिएन । हाल चेल्सीमै रहेका फेलिक्सलाई उनकै पुर्व क्लब बेनिफिकाले किन्न खोजिरहेका बेला अल नासर यस दौडमा आएको हो । खेल पत्रकार फब्रिजियो रोमानोका अनुसार अल नासरले चेल्सी र फेलिक्सका प्रतिनिधिसँग छलफल गरेपाची उनको अल नासर जाने निश्चित भएको हो । चेल्सीले फेलिक्सका लागि ५३ मिलियन युरो माग गरेपनि ३० मिलियन डलरमा सहमति भएको बताइएको छ ।
१५.अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको जारी टी-२० सिरिजमा लगातार चौथो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न चौथो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।यो जितसहित अस्ट्रेलियाले ५ खेलको सिरिजमा ४-० को अग्रता हासिल गरेको छ । अब सिरिजको अन्तिम खेलमा मंगलबार हुने छ ।
१६.चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।
१७.बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण गरिएको छ । फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको ९ दिनमा २ सय करोड क्लबमा प्रवेश गरको छ । फिल्मले रिलिजको दोस्रो शुक्रबार १८.५० करोड र दोस्रो शनिबार २७ करोड कमाई गर्दै भारतीय बक्स अफिसमा २२०.७५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यस अघि फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको थियो ।
१८.भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ । भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भागदौडको ३० जनाभन्दा बढी घाइते भएका छन् ।
१९.इजरायलले हमासविरुद्धको युद्ध पछि पहिलो पटक गाजामा मानवीय सहायता पुर्याएको छ । इजरायली सेना आइडीएफले गाजामा पीठो, चिनी, औषधि र डिब्बाबन्द खाना हवाई मार्गबाट पुर्याएको हो । यो कदम अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा उठाइएको हो । साथै, इजरायलले गाजाका केही भागहरूमा युद्धविराम र संयुक्त राष्ट्र संघको लागि सुरक्षित मार्गको घोषणा पनि गर्यो ताकि त्यहाँका मानिसहरूलाई मद्दत पुर्याउन सकियोस् । इजरायलले मार्चदेखि मे महिनासम्म गाजामा बाह्य सहायता प्रतिबन्ध लगाएको थियो । गाजामा इजरायल-हमास युद्ध सुरु भएको २२ महिना भइसकेको छ। यस लडाईंका कारण अहिलेसम्म १२४ जनाको भोकमरीले मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन् । जुलाई महिनामा नै ४० जनाको भोकमरीले मृत्यु भएको छ, जसमध्ये १६ जना बालबालिका छन्।
२०.सीमा विवादलाई लिएर थाइल्याण्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि लडाइँ जारी रहेको छ । यस रक्तपातपूर्ण द्वन्द्वमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए, तर आइतबार बिहान प्राचीन मन्दिरहरू नजिक फेरि गोलीबारी सुरु भएको मिडिया रिपोर्टमा बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij