Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँमा लुटपाट मच्चाएका १० जना लुटेराहरुलाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन महिनादेखि गरगहना तथा नगद लुटपाट तथा कुटपीट गर्दै आएका लुटेराहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
परिसर, प्रहरी वृत स्वयम्भु, प्रहरी वृत गौशालाबाट खटिएको संयुक्त टोलीले आज बिहान मुलपानीमा गोली हानेर समातिएका १० लुटेराहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, चौरी देउराली १ कै २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु १ का १८ वर्षीय राजिब भण्डारी, रामेछापको दोरम्भा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।
२३ वर्षीय विनय तामाङ लुटपाट,डाँका चोरीको मुख्य योजनाकार रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए । पक्राउ परेकामध्ये मुख्य नाइके विनय तामाङलाई गोली लागेको छ र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
पक्राउ परेका सवै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सि चलाउने र राती लुटपाटमा संलग्न हुने गरेको एसएसपी थापाले जानकारी दिए । पक्राउ परेका गिरोहहरु जनेजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए ।
पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजि कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

लुटपाटमा संलग्न मध्ये सिन्धुलीका माझी लुटपाटमा मोटरसाइकल चालक, पछाडि बस्ने, प्राइभेट गाडी-बा १२ च७७०१ं मा रेकि गर्ने र रातमा लुटपाट गर्ने गरेको पाइएको छ । विभिन्न प्रहरी कार्यालयमा २२ वटा चोरी तथा लुटपाटको उजुरी परेको छ । हालसम्म २७ जना पीडित प्रहरीको सम्पर्ककामा आएका छन् । हालसम्म ४ वटा जाहेरी परेको एसएसपी थापाले बताए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij