Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका – ८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ । शनिबार राति ७० वर्षीय राम दुलार साहलाई अज्ञात समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार साह राति आफ्नै कुटी अगाडि बाटोमा पिसाब गरिरहेका बेला पछाडिबाट दुई गोली प्रहार गरिएको थियो । गोली नाभी नजिकै ढाडतर्फ लाग्दा उनको तत्कालै मृत्यु भएको हो ।
घटना सार्वजनिक भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान थालेको छ । घटनास्थलबाट दुई वटा गोलीका खोका बरामद भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने व्यक्ति फरार रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय कडरवोनाबाट टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij