
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । चीनमा ३ वर्षभन्दा कम उमेरका बालबालिका भएका अभिभावकलाई हरेक बालबालिकाका लागि ५०० अमेरिकी डलर (३ हजार ६०० युआन) दिन लागिएको छ । जन्मदर बढाउन सरकारले पहिलो पटक देश व्यापी रूपमा अनुदान दिन लागेको हो ।
सोमबार घोषणा गरिएको यस योजनामा अभिभावकले प्रति सन्तान १० हजार ८०० युआनसम्म पाउने छन् । यो योजनाअन्तर्गत अभिभावकहरूलाई यस वर्षको सुरुदेखि नै हिसाब गरेर पैसा दिइने चीनको सरकारी टिभी च्यानल सीसीटीभीले उल्लेख गरेको छ ।
२०२२ देखि २०२४ को बिचमा बच्चा जन्मिएका घरपरिवारले यो आंशिक अनुदानका लागि आवेदन दिन सक्नेछन् । चीनमा जन्मदर घटिरहेको छ । सत्तारुढ कम्युनिस्ट पार्टीले विवादास्पद एक सन्तान नीति एक दशक अघि नै खारेज गरिसकेको भएपनि त्यहाँ जन्मदर बढ्न सकेको छैन ।
सरकारले पछिल्लो योजनाले २ करोड घरपरिवारलाई साना बालबालिका हुर्काउन टेवा मिल्ने सरकारी सञ्चार माध्यमले भनेको छ । चीनका कयौँ प्रान्तले स्थानीय बासिन्दाहरूलाई थप सन्तान जन्माउन प्रेरित गर्नका लागि भनेर भुक्तानीको योजनाहरू ल्याएका थिए ।
मार्चमा उत्तरी चीनको होह्हत शहरले तीन सन्तान भएका जोडीलाई हरेक सन्तान बापत १ लाख युआन दिने घोषणा गरेको थियो । बेइजिङको उत्तरपूर्वी सहर शेनयाङले भने तीन वर्ष भन्दा कम उमेरका तेस्रो सन्तान भएको स्थानीय परिवारलाई मासिक ५०० युआन दिने घोषणा गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij