Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

घाँस खेतीतर्फ आकर्षित हुँदै दाङका किसान

घाँस खेतीतर्फ आकर्षित हुँदै दाङका किसान

  • देउखुरी । दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रीन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।  

    images
    images
    images

    घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताउनुभयो । उहाँले यसरी घाँस लगाउन थालेको चार वर्ष भयो । हरियो हँुदा काटेर गाईभैँसीलाई खुवाउन पनि हुन्छ । सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस हो । “व्यावसायिक रुपमा चार वटा गाई पालेको छु, त्यसका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार एक बिघा खेतबाट एक याममा रु  एक लाख आम्दानी हुन्छ । उहाँले गत वर्ष वरसिम घाँसको बीउ गत वर्ष रु एक लाख पचास हजारमा बेच्नुभएको थियो । 

    images

    घोराही– ६ का सीताराम चौधरीले पनि आफ्नो १८ कठ्ठा खेतमा ‘घाँसको राजा’ वरसिम लगाउनुभएको छ । “घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, अहिले सजिलो भएको छ”, चौधरीले भन्नुभयो । हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झञ्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । वर्षात्का समयमा लगाइएको धान काट्नुभन्दा अगाडि तोरी, मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् ।   घोराहीमा सबैले नजोतेरै छर्ने गरेका छन् ।  हरियो र सुकेको वरसीम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ  कठ्ठादेखि साढे दुई बिघा जमीनमा  खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो, गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ । वागवानीअन्तर्गत तरकारी, फलफूल, फूल र घाँस खेती पर्छन् । 

    घोराही– ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । जोत्न नपर्ने, मल दिनु पनि नपर्ने, धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । 


     घाँसका लागि भाँैतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति  उत्पादक सङ्घले जनाएको छ ।  सङ्घका अनुसार अहिले १२५ हेक्टरमा वरसिम घाँस खेती गरिएको छ ।  व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो ।  कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु दुई  सयदेखि २५० सम्ममा बिक्री गर्ने गरिएके छ । प्रतिकठ्ठा  ३० देखि ३५ केजी सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको पाइन्छ ।  घाँस खेतीबाट गत वर्ष रु ५० लाख बराबरको बीउ सङ्घबाट बिक्री भएको सचिव अधिकारीले बताउनुभयो । केही किसानले आफँै बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफँै बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष वरसिम घाँसको बीउ करीब रु  ८० लाखको बिक्री हुने उहाँको अनुमान छ ।

    images

    वरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको दाङ जिल्लामा व्यावसायिकरुपमा उत्पादन भएको घाँसको बीउ मोरङ, सर्लाही, चितवन, नवलपरासी, रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिक्री हुने गरेको सचिव अधिकारीले बताउनुभयो । 

    साविक सौडियार गाविस हाल घोराही –६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको  हो । हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा गाईँभैसीलाई खुवाउन र पोषणका लागि उत्तम मानिन्छ । यो घाँस गाई, भँैसी, बाख्रा  र कुखुराले राम्रो मानेर खाने गरेका पाइन्छ । यसका हरियो र  सुकेको डाँठ  दुवै खुवाउन सकिन्छ ।  जिल्लामा गाई, भंैसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि अर्थोपार्जनका लागि  केही किसानले घाँस मात्रै  खेती गरेको पाइन्छ । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको प्रमुख केसीको भनाइ छ । 

    अहिले दाङ वरसिम घाँसको बीउ पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरनिरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिनुभयो । बीउका लागि दाङ उपयुक्त वातावरण भएको उहाँको पनि भनाइ  छ  ।  

    दाङमा  तुलसीपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर, सौडियार, घोराही र  नारायणपुर क्षेत्रमा व्यावसायिक घाँस खेती हुने गरेको छ ।  दाङमा नेपियर, मकैचरी, जै, भेजलगायत जातका घाँस खेती भए पनि हावापानी राम्रो भएकाले वरसिम फस्टाएको छ ।  पछिल्लो समयमा जिल्लाका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा वरसिम घाँसको बीउ वितरण गदँै आएका छन् । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij