Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हिउँ नपर्दा चिन्तामा किसान

हिउँ नपर्दा चिन्तामा किसान

  • मनाङ । यतिबेला  हिमाली जिल्लाका खेतबारी र डाँडापाखा  सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र  खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । 

    images
    images
    images

    “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”,  किसान याङ्डु गुरुङले भन्नुभयो । 

    विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् । 

    हिमाली जिल्ला  मनाङमा गत वर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खास याममा समेत  हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि  स्थानीयवासी चिन्तित बनेका छन् ।

    पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउनुहुन्छ  । उहाँका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।
     
    पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउनुहुन्छ ।  मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । 

    हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ । 
    जिल्लाको माथिल्लो क्षेत्रमा गत पुस २१ मा केही मात्रामा हिमपात भए पनि  तल्लो क्षेत्रमा भने अहिलेसम्म  भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका–२ कोतोका  किसान विनोद लामाले  बताउनुभयो  ।

    उहाँका अनुसार गत वर्ष मङ्सिर २८ देखि नै माथिल्लो  र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । “हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन”,  उहाँले भन्नुभयो  ।

    हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij