
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नक्कली सुन देखाइ मोरङ, सुनसरी र झापाका विभिन्न १० जनालाई ठगी गर्ने छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
झापाका ५२ वर्षीय अशोक तामाङ, अर्जुनधाराका ५४ वर्षीय प्रविन तामाङ, हल्दीबारीका ६६ वर्षीय रामबहादुर कन्दङ्गवा, कन्काईका ५९ वर्षीय धकलबहादुर थिङ, भारत पश्चिम बङ्गाल दार्जेलिङ जिल्ला नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ, सोही स्थानका ३४ वर्षीय सञ्जय शर्मालाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निजहरूको साथबाट नगद रु दुई लाख ७२ हजार चार सय ३०, भारतीय रुपैयाँ दुई हजार छ सय ३०, सुनजस्तो देखिने बिस्कुट आठ थान, विभिन्न पहेँलो धातुको तिलहरी चार थान र अन्य सुनका गरगहना बरामद भएको छ ।
निज आरोपितहरूलाई प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, मोरङ र सुनसरी प्रहरीको सहयोगमा सुनसरीस्थित इटहरीको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक चिमरियाले बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij