
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अमेरिकामा नेपाली चेली ममता काफ्लेको हत्या प्रकरण सेलाउन नपाउँदै अर्की चेली पनि मारिएकी छिन् । भर्जिनियामा ममताको हत्या भएको केही सातापछि टेक्सस राज्यको ह्युस्टनमा मुना पाण्डेको हत्या भएको हो ।
भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डेलाई आफू बसेकै अपार्टमेन्टमा सोमबार साँझ गोली हानेर मारिएको त्यहाँको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएपछि सोमबार साँझ साढे ५ बजेतिर ह्युस्टन प्रहरी घटनास्थलमा पुगेको थियो । त्यतिबेला मुना छातीमा गोली लागेको अवस्थामा मृत भेटिइन् ।
उनलाई धेरैवटा गोली हानिएको ह्युस्टन प्रहरीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।
नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार सुरुमा साथीसँग बस्ने गरेकी पाण्डे पछि अपार्टमेन्ट लिएर एक्लै बस्न थालेकी थिइन् ।
हालसम्म हत्यारा पत्ता लागेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको ह्युस्टन प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाण्डेकी आमा अनिताले हत्यारा पत्ता लगाउन आग्रह गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij