
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । खराब मौसमका कारण इटालीको तटीय सहर सिसिलीको तटमा २२ जना सवार एउटा विलासी डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता भएका छन् ।
जसमध्ये १५ जनाको उद्धार गरिएको छ । जसमा एक वर्षको बच्चा पनि छन् । गोताखोरहरुले बेपत्ताहरुको खोजी गरिरहेका छन् । हेलिकप्टरबाट पनि खोजी कार्य भइरहेको छ ।
डुङ्गामा सवार व्यक्तिलाई उद्धार गर्ने जहाजका क्याप्टेनले लाइफ र्याफ्टमा १५ जना मानिस फेला पारेको बताए । उनले त्यहाँबाट तटरक्षकलाई सचेत गराए ।
लक्जरी डुङ्गाको नाम बायेसियन हो । ५६ मिटर लामो यो डुंगामा बेलायती झण्डा थियो र डुब्दा यो बन्दरगाहबाट ७०० मिटर टाढा थियो ।
प्रारम्भिक रिपोर्टमा अधिकारीहरूले दुर्घटनापछि बेपत्ता भएकामध्ये चारजना बेलायतका, दुईजना अमेरिका र एक जना क्यानडाका नागरिक रहेको जनाएका थिए भने मृत्यु हुनेको नागरिकता खुल्न सकेको छैन ।
डुङ्गाको भग्नावशेषको पहिचान भइसकेको छ । यो समुन्द्रको ५० मिटर गहिराईमा भेटिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij