
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सरकारी स्वामित्व रहेका उद्योगमध्ये तुलनात्मक रूपमा सबैभन्दा ठूलो कारोबार गर्ने दुग्ध विकास संस्थान (डिडिसी) टाट पल्टिने अवस्थामा पुगेको छ । दुई अर्ब १८ करोड बराबर कुल सम्पत्ति रहेको डिडिसीको सञ्चित नोक्सानी र ऋणको दायित्व भने दुई अर्ब ५५ करोड पुगेको हो।
आर्थिक अभावकै कारण संस्थाले बुधबार परेको ५६औँ वार्षिकोत्सवसमेत मनाएन । वार्षिकोत्सवका अवसरमा २५ वर्ष सेवा अवधि पूरा गरेका करिब ७५ कर्मचारीलाई सुन र चाँदीजडित दीर्घसेवा पदकबाट सम्मान गर्नुपर्ने थियो । डिडिसीको कर्मचारी प्रशासन विनियमावलीमा यस्तो व्यवस्था छ । प्रतिदीर्घसेवा पदकका लागि करिब ७० हजार रुपैयाँ खर्च आवश्यक पर्ने, तर उक्त रकम व्यहोर्ने स्रोत नभएपछि वार्षिकोत्सव नै रोकिएको एक कर्मचारीले बताए । पछिल्लो आर्थिक वर्ष ०८०/८१ मा मात्रै ७० करोड (प्रारम्भिक अनुमान) नोक्सानी खेपेपछि डिडिसीको आर्थिक अवस्था ऋणात्मक बनेको हो । अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानको सार्वजनिक स्थिति समीक्षा, ०८१ अनुसार ०७९/८० सम्म डिडिसीको सञ्चित घाटा एक अर्ब ८५ करोड थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij