
Aug 07 2025 | २०८२, साउन २२ गते
ललितपुर । ललितपुरमा एक किशोरीको रहस्यमय मृत्यु भएपछि उनको प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि इमाडोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार मृतक किशोरी र किशोर सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सामाजिक सञ्जालबाट चिनजान बढेपछि केही महिनादेखि उनीहरू प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किशोरी बुधबार दिउँसो करिब १२ बजे पहिलोपटक प्रेमीको घरमा गएकी थिइन् । उनीहरू कोठामा बसिरहेको बेला किशोरी एक्कासी बेहोस भइन् । त्यसपछि आर्यनले आफ्ना बुबालाई खबर गरेका थिए । बुवाले तत्काल उनलाई ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याएका थिए, तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
किशोरीको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमका लागि राखिएको छ । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ । घटनास्थलबाट किशोरीले प्रेमीलाई लेखेको भनिएको ‘लभलेटर’ समेत फेला परेको प्रहरीको भनाइ छ ।
मृतक किशोरी र आर्यन दुवै कक्षा १२ मा अध्ययनरत विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनापछि सातदोबाटो प्रहरी वृत्तबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरी हिरासतमा राखिएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij