
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा पनि बजेट पूर्ण कार्यान्वयन हुन सकेन । सरकारले विनियोजन गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेटमध्ये जम्मा ८० दशमलव ४४ प्रतिशत मात्रै खर्च भएको छ । अर्थात् १४ खर्ब आठ अर्ब ७६ करोड रुपैयाँ खर्च भएकोे छ ।लक्ष्यअनुसार राजस्व उठाउन पनि सरकार असफल भएको छ । १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात् १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व सङ्कलन हुने अनुमान गरेका थिए । तर, सरकारले अनुमान गरेअनुसार न बजेट खर्च भयो न त राजस्व नै उठ्यो । अर्थतन्त्रमा आएको सङ्कुचन, बजारमा माग घट्नु, महँगी बढ्नु, आयात घट्नुलगायत कारण यस वर्ष राजस्व कम उठेको हो । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।
चालूतर्फ लक्ष्यको करिब ८३ दशमलव ४१ प्रतिशत अर्थात् नौ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजजीगत खर्च निकै कम भएको छ । तीन खर्ब दुई अर्ब सात करोड खर्च गर्ने लक्ष्य लिएकोेमा जम्मा ६३ दशमलव ४७ प्रतिशत अर्थात् एक खर्ब ९१ अर्ब ७३ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।वित्तीय व्यवस्थातर्फ पनि ८६ प्रतिशत हाराहारी खर्च भएको छ । तीन खर्ब सात अर्ब ४५ करोड खर्च हुने लक्ष्य लिएकोमा जम्मा दुई खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ खर्च भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij