
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । यस्तै, २ जना धरौटीमा रिहा भए ।
न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । यस्तै, थुनामा जानेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगर हुन् ।
सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी मदन घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।
८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित ६५ जनालाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोग दायर गरेकोमा ३ दिनसम्म थुनछेक बहस भएको हो । हालसम्म ९ जना उपस्थित भए पनि अन्य ५६ जना प्रतिवादी फरार छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij