
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । बुटवल मिलनचोकको डेल्टा मार्टमा गएराति भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा नियन्त्रणमा आएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो ।
मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मार्टका सञ्चालकका अनुसार आगलागीबाट ४० करोडको क्षति भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij