काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले १८ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।
यस शैक्षिक सत्रमा हिजोसम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ, जस अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएकामध्ये १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाएका छन् ।
यसबाट लक्षित वर्गका विद्यार्थीहरूलाई करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध गराउन सफल भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिए ।
अघिल्लो शैक्षिक सत्रभन्दा यस वर्ष छात्रवृत्ति दिने विद्यायलको संख्या पनि बढेको शाहले बताए । विवरण बुझाउन बाँकी विद्यालयलाई तीन दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ ।
महानगर प्रमुख बालेन शाहका अनुसार:
एउटा कानुन कार्यान्वयनले यो बर्ष १९००० भन्दा धेरै विद्यार्थीले Scholarship पाएको छ । गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरणमहानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो ।
यस शैक्षिक सत्र २०८१ मा हिजो सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ जस अनुसार १,४९,९५६ बिद्यार्थी भर्ना भएका मध्ये १८४२२ जनाले छात्रवृति पाएका छन् । हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै लक्षित बर्गका बिद्यार्थी हरुलाई करिब २ अर्ब बराबर को छात्रवृति उपलब्ध गराउन सफल भयौँ ।
प्राप्त भएको विवरणको हामि अनुगमन गर्नेछौ , फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । हाल सम्म विवरण नबुझाउने विद्यालयलाई ३ दिन को समय दिई विवरण पेस गर्नका लागि सार्बजनिक सुचना प्रकाशन गरेका छौ । ३ दिन भित्र विवरण पेस नगर्ने बिद्यालय हरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।
विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९००० विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।