
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ सुरु गरिएको छ ।
आज बिहान ११ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम सुरु भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । उनका अनुसार साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गर्न लागिएको हो । उनले बाबाहरुलाई स्तरअनुसार एक हजारदेखि नौ हजार रुपैयाँसम्म दिन लागिएको बताए ।
पशुपति क्षेत्र विकास कोषले स्वदेश तथा विदेशबाट आएका साधुहरुलाई पशुपति क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्नप्रसाद दिएर बिदा गर्ने चलन रहेको जनाएको छ । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।
नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij