काठमाडौँ । १० लाख भारतीय रूपैयाँसहित तीन जना पक्राउ परेका छन् । आइतबार सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपालका सह प्रवक्ता डिएसपि शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगंज सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुरका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले विशेष सूचनाको आधारमा बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यान जाँच गर्दा १० लाख भारुसहित उनीहरूलाईनियन्त्रणमा लिइएको हो ।
तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ । उल्लेखित रूपैयाँ र दुईवटै भ्यान भने राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाउने प्रक्रियामा रहेको बताइएको छ ।