मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ । दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा विमानमा ८ जना र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो ।
विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो । दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् ।