
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो काठमाडौं महानगरपालिकाले २० वर्षपछि खुला गरेको छ । बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो ।
जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन । महानगर प्रमुख बालेन शाहले प्रधानसेनापतिलाई भेटेर पहल गरेपछि बाटो खोल्न सहज भएको बताइएको छ ।
गत साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन शाहले फिल्ड निरीक्षण गर्नुभयो । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो ।
यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले बताए । काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्र पर्ने आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको बताइएको छ ।
२०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न थालिएको हो ।
आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टयाइएको छ ।
२४.४७ प्रतिशत सडकका बाँकी पार्क तथा खुल्ला क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र र भचाखुशी नदीका लागि छुट्ट्याइएको छ । एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य ध्येय रहेको महानगरले बताएको छ ।
जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्कवापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij