
Apr 02 2025 | २०८१, चैत २० गते
नेपाल मण्डलमा बौद्ध शिक्षाको अध्ययन अध्यापन त अभ्यास गर्ने प्राचीन परम्परागत केन्द्र बहा बहीको उद्गम स्थलको रुपमा रहेको भनी इतिहासकारहरुले इंगित गरेको काठमाडौंको पुर्वी उत्तर क्षेत्रमा रहेको गुंबहास् (गुंबिहार) र त्यहाँ रहेको बज्रयोगिनी सहित अन्य चार योगिनीको तथ्यहरुलाई बुनेर तयार पारिएको डकुमेन्ट्री द योगिनीको प्रोमो र पोस्टरको अष्ट्रेलियाको सिड्नी शहरमा रिलिज गरिएको छ ।
कार्यक्रम गुठीका भाषा संस्कृति अध्ययन समितिका संयोजक श्याम सैंजुको संयोजकत्वमा भएको थियो ।
नेपालको कला संस्कृतिमा नेवार कला संस्कृति निकै लामो इतिहास बोकेको गौरवमय परम्परा रहेको र यसमा पनि ३३ सय वर्षभन्दा पुरानो इतिहास रहेको बज्रयोगिनी क्षेत्र र वज्रयोगिनी बारे बनाइएको यस डकुमेन्ट्री नेपालको इतिहास अध्ययन गर्नेहरूकै निम्ति महत्त्वपूर्ण रहने उनले बताए ।
कार्यक्रममा गुथि अष्ट्रेलियाका अध्यक्ष उमेश नापितले 'द योगिनी' डकुमेन्ट्रीको पोस्टर अनावरण गर्दै गुठी अस्ट्रेलिया यस किसिमको सम्पदा संस्कृतिको प्रचार प्रसार कार्य गर्न नै स्थापना भएको बताए ।
गुठी अस्ट्रेलियाया पूर्व अध्यक्ष तथा सल्लाहकार पद्म शाक्यले महर्जन रत्न नेपाल भाषा अनि नेपाली सिने क्षेत्र भाषिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका व्यक्ति भएको र उनीसँग पहिला पनि 'मुद्दा' चलचित्रमा गुठी अस्ट्रेलियाले सहकार्य गरेको स्मरण गर्दै 'द योगिनी' डकुमेन्ट्रीमा पनि सहकार्य गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा 'द योगिनी' का लेखकर निर्देशक महर्जन रत्नले काठमाडौं उपत्यका र यसको रक्षार्थ खडा गरिएका पाँच योगिनी र त्यसको महत्त्व बारे चर्चा गर्दै साँखुको गुंबहा तथा त्यहाँ रहेको बज्रयोगिनीलाई कुन कुन सम्प्रदायले कसरी मान्छन् र यहाँको धार्मिक सांस्कृतिक र पुरातात्वीक महत्व बारे चर्चा गर्दै डा. बाल गोपाल श्रेष्ठको Sacred Town of Sankhu लाई मूल स्रोतको रुपमा लिएर डकुमेन्ट्री निर्माण गरेको बताए ।
अमेरिकाको ह्वाइट फेदर प्रोडक्सनसँग मिलेर सुभाय् मिडियाले यस डकुमेन्ट्रीको निर्माण गरेको हो ।
जसमा लोकप्रिय कलाकार तथा नृत्यकार रन्जु श्रेष्ठले बज्रयोगिनी चर्या नृत्यका साथै यस डकुमेन्ट्रीमा एसोसिएट प्रोड्युसरका रूपमा कार्य गरेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij