Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

लामो समयपछि वर्षा, किसान खुशी !

लामो समयपछि वर्षा, किसान खुशी !

  • बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।  

    images
    images
    images

    लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताउनुभयो । “यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।”

    वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । “लामो समयको खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ”, उहाँले भन्नुभयो, “यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।” बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ ।

    यसैबीच हिउँदे वर्षाले चिसोसमेत बढाएको छ । चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । चिसोको समयमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समयमा बालबालिकालाई निमोनिया, वृद्धवृद्धालाई श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्ने भएकाले अनावश्यकरूपमा घरबाहिर ननिस्कन, घरमै आगो बालेर बस्न र न्यानो लुगा लगाउन आग्रह गरेका छौँ ।” चिसोको समयमा कोरोना भाइरसको जोखिमसमेत बढी हुने भएकाले चिसोबाट बच्न आग्रह गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij