
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । रातको समयमा बादल लागेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ । हिजो बिहान २.५ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बढेर ९.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहन्छ । अहिले न्यूनतम तापक्रम बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविद्ले बताएका छन् ।
हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र २ मा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij