
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन तथा समानुपातिक निर्वाचनमा झण्डै तीन लाख जनशक्तिले सुरक्षा प्रदान गर्ने भएका छन् । निर्वाचनमा नेपाल प्रहरीका ७१ हजार छ सय ९३ जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिने भएको छ ।
नेपाली सेनाले ७१ हजार जनशक्ति खटाउने आन्तरिक तयारी गरेको छ । सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गर्ने जनाएको छ । राष्ट्रिय अनुसन्धान विभागका दुई हजार बढी परिचालन हुने र सबै गरेर दुई लाख ९४ हजार सात सय बढीले निर्वाचनको पहरा दिने योजना बनाइएको छ ।
गृह मन्त्रालयले निर्वाचनको केन्द्रीय सुरक्षा योजनालाई अन्तिम रुप दिइनसके पनि नेपालका चारवटै सुरक्षा निकायका विगतका अनुभव र यसपालि आउनसक्ने सुरक्षा चुनौती आकलन गरेर आन्तरिक रणनीति निर्माण गरी निर्वाचनको तयारी थालेको छ । नेपाली सेनाको एक फौज भने मतपत्र छपाइको सुरक्षामा खटिसकेको छ ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक नेपाल प्रहरीका १० हजार र म्यादीका १५ हजार जनशक्ति थप गरिएको छ । त्यसबेला नेपाल प्रहरीका ६१ हजार र म्यादी प्रहरी एक लाख खटाइएको थियो । सशस्त्र प्रहरीतर्फ निर्वाचनका लागि तीन हजार जनशक्ति थप गर्दै कुल ३५ हजार जनशक्ति खटाइने जनाइएको छ। यसअघि स्थानीय तहको निर्वाचनमा ३२ हजार सशस्त्र प्रहरी कर्मचारीले सुरक्षा प्रदान गरेका थिए । यसपटक मतदानस्थल, मतदान केन्द्र र मतदाता समेत थपिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij