Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।
छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने छ । डिप्लोमा तथा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र २०७९/२०८० मा ‘डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवम् भर्नासम्बन्धी निर्देशिका २०७९’ बमोजिम आवेदन माग गरेको हो ।
परिषद्बाट सञ्चालन सम्बन्धी स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि प्रमाणपत्र तह नर्सिङ बाहेक सूचना अनुरुप योग्यता पुगेका विद्यार्थीले आवेदन दिन सक्ने आज (बिहीबार) प्रकाशित सूचनामा उल्लेख गरिएको छ । न्यूनतम योग्यता पुगेका इच्छुक आवेदकहरूले अनलाइनबाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरू प्राथमिकीकरण र परीक्षा केन्द्रको जिल्लाहरू छनोट गरी अनलाइन आवेदन फारम भर्नसक्ने सूचनामा उल्लेख गरिएको छ ।
निर्देशिका अनुसार प्रत्येक शैक्षिक संस्थामा अध्यापन गराउने २० स्वीकृत कोटा पाएको शिक्षण संस्थाले प्रत्येक शैक्षिक कार्यक्रममा एक, ३० सिट पाएकाले प्रत्येक शैक्षिक कार्यक्रममा दुई, ४० पाएकाले तीन र ४८ सिट पाएका शैक्षिक संस्थाले हरेक कार्यक्रमका लागि चार सिट छात्रवृत्तिका लागि छुट्याउनु पर्नेछ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij