
Apr 18 2025 | २०८२, वैशाख ५ गते
डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्र पर्यटन विकास समितिका अध्यक्षमा हर्कबहादुर सिंह नियुक्त हुनुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्वसङ्घीय सांसद तथा नेकपाका नेता सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी सदस्यमा अछामको साँफेबगर नगरपालिका–११ का लक्ष्मण खड्का, बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ का गणेशबहादुर शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–४ का मिश्र रोकाया र डोटी सायल गाउँपालिका–३ का हरिपाल थापा तथा महिला सदस्यमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ की मनिषा धानुक रहेको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यकारी अधिकृतमा बाजुराको बूढीनन्दा नगरपालिका–७ का भीम खड्कालाई नियुक्त गरिएको छ ।
लामो समयदेखि समितिमा अध्यक्षसहितका पदाधिकारी नहुँदा विभिन्न विकास निर्माणका काम रोकिएको थियो । पदाधिकारीसहित कार्यकारी प्रमुख नियुक्त भएपछि खप्तड क्षेत्रको विकासमा निकै राम्रो सहयोग मिल्ने खप्तड झिग्रना होमस्टेका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पदाधिकारी तथा कार्यकारी प्रमुख नहुँदा खप्तडको विकासले गति लिन सकेको थिएन । अब पदाधिकारी तथा अन्य कर्मचारी नियुक्त भएपछि बल्ल विकासले फड्को मार्ने आशा जागेको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij