
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि खटिने कर्मचारीकाे बीमा प्रक्रिया सुरु गरेको छ । आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने एक लाख १० हजार ७१३ जना कर्मचारीका लागि बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको छ ।
निर्वाचन अवधिमा खटिने कर्मचारीको २० लाख बीमाका लागि तयारी गरिएको निर्वाचन आयाेगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन १६ गतेभित्र आइपुग्ने गरी बीमा कारोबार गर्ने संस्थाबाट प्रस्ताव आह्वान गरिएको जानकारी दिएका छन् । निर्वाचनमा मतदान, मतगणना र अन्य प्राविधिक कार्यका लागि मात्रै करिब दुई लाख ५० हजार कर्मचारी नियुक्त हुनेछन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा खटिने कर्मचारीको जनही २० लाख रुपियाँको बीमा हुनेछ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ३६ ले आयोगले निर्वाचनको काममा संलग्न पदाधिकारी, कर्मचारी वा शिक्षकको निर्वाचन अवधिभर हुने दुर्घटनाका लागि बीमा गरिदिनुपर्ने उल्लेख छ ।
आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खट्ने छ हजार ७७७ जना कर्मचारीका लागि ७० दिन, मतदान केन्द्रमा खट्ने ९४ हजार कर्मचारीका लागि १५ दिन र मतगणनामा खटिने नौ हजार ३६ जना कर्मचारीका लागि १० दिनका लागि बीमा गर्नुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij