
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाण्डौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्रीले त्यसका लागि हामीले सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औँल्याएका हुन् । प्रधानमन्त्री देउवाले भने,‘‘प्रजातन्त्र प्राप्तिको २००७ को राजनीतिक क्रान्तिले नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति हो” प्रधानमन्त्रीले प्रजातन्त्रकै जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको समेत उल्लेख गरे।
नेपाली काँग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको थियो । आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय छ । राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ, यो सबै २००७ सालको क्रान्तिको जगमा सम्भव भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘‘२००७ सालको राजनीतिक परिवर्तनकै जगमा आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना भएको हो, यसलाई अब हामी सबैले थप सबल र सुदृढ बनाउन आवश्यक भएको छ ।’’
विभिन्न आन्दोलनबाट हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ भन्दै प्रधानमन्त्री देउवाले राजनीतिक रूपमा मुलुकले ठूलो फड्को मारेको बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij