Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार ओरालो लागेको नेप्सेमा मङ्गलबार र बुधबार भने सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि त्यसको प्रभाव बजारमा परेकाले शेयर मूल्यमा सुधार देखिएको बताइन्छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९२.७० अङ्कले बढेर दुई हजार ५०७.७० मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.७४ अङ्कले बढेर ४७७.२६ मा पुगेको छ । नेप्स परिसूचक उच्च अङ्कले बढे पनि कारोबार रकम भने तुलनात्मक रूपमा वृद्धि भएको छैन । कूल २३३ कम्पनीको ८१ लाख चार हजार ३१९ कित्ता शेयर रु चार अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७, सामूहिक लगानी कोष ०.०७ र लगानी ३.८९ अङ्कले उकालो लागेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६५२ बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी १५ करोड ८२ लाख ५४ हजार ४१७, अरुण भ्याली हाइड्रोपावर १३ करोड ९० लाख १७ हजार ३०६, गुर्खाज फाइनान्स १३ करोड ३७ लाख ६५ हजार २२७ र नबिल बैंक ११ करोड ७८ लाख ४५ हजार ६२४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
चार कम्पनीको शेयर मूल्यमा सर्किट
नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा तीन जलविद्युत् कम्पनी र एक उत्पादन क्षेत्रको कम्पनी रहेको छ । कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, माथिल्लो तामाकोशी र शिवम् सिमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
स्वाभिमान लघुवित्तको सेयरमा ९.९७ प्रतिशतको वृद्धि भएको छ । उता नबिल डिवेञ्चर ४.५९, प्रभु सेलेक्ट फण्ड २.४९, गुर्खाज फाइनान्स २.१६, कुमारी बैंकको डिवेञ्चर १.१७ र लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले १ प्रतिशतले गुमाए ।
नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा सीमा निर्धारण गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको तर यो प्रभाव दिगो हुने हो कि होइन भन्नेमा भने लगानीकर्तामा द्विविधा देखिन्छ ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३५ खर्ब २५ अर्ब ८९ करोड ५४ लाख ७९ हजार ७११ बराबर पुगेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij