
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।काठमाडौँमा भएको १४औं महाधिवेशनबाट सभापति शेरबहादुर देउवा समूहका खड्का र डा. शेखर कोइराला समूहका गुरुङ निर्वाचित भएका हुन् ।
यस्तै, उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदार भने झिनो मतले पराजित भएका छन् ।उपसभापतिका लागि खड्का, गुरुङ, गच्छदारसँगै चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी साह मैदानमा थिए ।
नेपाली कांग्रेस महामन्त्री पदको मतगणना हुँदै
नेपाली कांग्रेस को १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।
निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij