Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज यहाँ आयोजना गरिएको ‘सगरमाथा समिटर्स समिट–२०२६’ लाई सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् ।
“सगरमाथा केबल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सम्वद्र्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उनले भने ।
राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहर थुप्रिनेजस्ता समस्या अहिले चुनौती बनेको बताए । “यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।
हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धिमा विश्वभरिका सगरमाथा आरोहीलाई एकैठाउँमा भेला गराएर विशेषतः सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यो सम्मेलनको विशेष महत्व रहेको धारणा उनले व्यक्त गरे ।
“आरोहणका क्रमका भोगाइ र अनुभवबाट प्राप्त गरेको ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानका रुपमा रहेको सगरमाथालाई यसको प्राकृतिकस्वरुपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन प्रवद्र्धनमा ‘सगरमाथा समिटर्स समिट–२०२६’ फलदायी हुने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर सगरमाथा र नेपालका हिमालमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij