Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले नेपाल(चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारे।
सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए। सरकारले अघि सारेको १०० बुँदे कार्ययोजना कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले राजनीतिक संक्रमणकालमा चीनले देखाएको सद्भावप्रति धन्यवाद व्यक्त गरे।
उनले संघीय संसदका दुवै सदन, संसदीय समितिहरू र मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसद निर्माण गर्ने प्रतिबद्धता जनाए। साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने बताए।
सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिँदै बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे। साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले नेपालको संविधानअनुसार आवश्यक कानुन निर्माणलाई तीव्रता दिने, निजी क्षेत्रको मनोबल बढाउने तथा लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवा नेतृत्वले देशको विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। साथै, विश्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाल शान्ति, संवाद र सहकार्यको पक्षमा रहेको बताए।
भेटमा राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्वपूर्ण अवसरका रूपमा लिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाई पत्र हस्तान्तरण गरेको जानकारी दिए।
राजदूत माओमिङले चीनले नेपाललाई महत्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपाल नीति निरन्तर रहने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij