
Apr 18 2025 | २०८२, वैशाख ५ गते
पोखरा । प्रथम टाइगर कप आमन्त्रण खुल्ला महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज शनिवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र स्थानीय टोली गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुनेछ ।
लिग चरणमा गण्डकीले आर्मीलाई ३–१ ले हराएको थियो । गण्डकी उक्त जितलाई निरन्तरता दिन चाहन्छ भने आर्मी गण्डकीसँग सो हारको बदला लिन चाहन्छ । लिग चरणको पहिलो खेलमै सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा गण्डकीसँग पराजित भएको आर्मीले विभागीय प्रतिद्धन्द्धी एपिएफ र नेपाल पुलिस क्लबलाई सहजै पाखा लगाउदै लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाउन सफल भएको थियो ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार १५ हजार राखिएको आयोजकले जनाएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार तथा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij