Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको ज्यान गएको घटनालाई वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको छ ।
पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले एक बिज्ञप्ति जारी गर्दे छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको हो ।
रास्वपाले चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गरेको छ ।
बिज्ञप्तिमा भनिएको छ- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ । यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।
पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको छ । घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौं । कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन । साथै, पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौं ।
चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौं ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij