Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकास्थित सामुदायिक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। दुधौली नगरपालिका–४ अन्तर्गत पर्ने झोराखानी दमार सामुदायिक वनमा स्थानीयले एक पुरुषलाई घोप्टो अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सखुवाको रुख नजिक शव देखेपछि इलाका प्रहरी कार्यालय डकाहामा जानकारी पुगेको हो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको थियो।
प्रहरीका अनुसार मृतक दुधौली नगरपालिका–३ मिलनचोक निवासी करिब ५८ वर्षीय सन्तबहादुर घिसिङ रहेको पहिचान गरिएको छ । शव रुख नजिकै घोप्टो अवस्थामा रहेको र सरीरमा बाह्य चोटपटक स्पष्ट नदेखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। तर मृत्युको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।
मुचुल्का प्रक्रिया पूरा भएपछि शवलाई थप परीक्षणका लागि नगर अस्पताल सिर्थौली पठाइएको थियो। पोस्टमार्टम पछि मृतकका आफन्तलाई शव बुझाइएको छ । पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि घटनाको वास्तविक कारण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij