Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा हुने ठगी र झुटा प्रचारबाट श्रमिकलाई जोगाउन ‘हेल्प टु हेल्प १० सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयका सचिव डा.कृष्णहरी पुस्करले पुस ८ गतेदेखि यो सेवा सुरु हुने जानकारी दिएका छन् ।
सचिव पुस्करका अनुसार, यो प्रणाली सबै श्रमिकका लागि आधिकारिक सूचना प्राप्त गर्न र सुरक्षित निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर सुरु गर्न लागिएको हो । देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गरिनेछ ।
उनका अनुसार पछिल्लो समय टिकटक, फेसबुकका रिल्स र अन्य सामाजिक सञ्जालमार्फत ‘छिटो पैसा कमाइन्छ’ वा ‘सजिलो देश पठाइन्छ’ जस्ता भ्रमपूर्ण प्रचार बढ्दै गएको छ । यसबाट बच्न र सुरक्षित निर्णय लिन ‘हेल्प टु हेल्प १० सेल’ प्रभावकारी हुने सचिव पुस्करले विश्वास व्यक्त गरे ।
सञ्चालनमा आउने सेन्टरमार्फत वैदेशिक रोजगारमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नको जवाफ पाउनेछन्। यसमा रोजगारीको माग भएको देश, आधिकारिक म्यानपावर कम्पनी, आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क ठेगाना समावेश छन् ।
सचिव पुस्करले भने, ‘सबै श्रमिकको ठगी र सुरक्षाको व्यवस्थापन गर्न पुस ८ गतेदेखि ‘हेल्प टु हेल्प १० सेल’ लागू हुँदैछ। यो निःशुल्क सेवा हो र श्रमिकलाई डिजिटल माध्यमबाट फैलिएका फ्रड र भ्रमबाट जोगाउने लक्ष्य राखिएको छ ।’
मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि मनाउने र पुस १ देखि ७ गतेसम्म ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ नाराका साथ २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने तयारी गरेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij