Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । सरकारले दिवङ्गत पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार रजकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो।
बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सुरेश रजकलाई राज्यकोतर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए । विस २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको क्रममा आगजनी भएको घरमा जलेर पत्रकार सुरेशको मृत्यु भएको थियो । दिवंगत पत्रकार रजकलाई सहिद घोषणा गर्न रजकको परिवारले माग गर्दै आएको थियो ।
यसअघि सरकारले दिवङ्गत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई रोजगारीको व्यवस्था गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजककी श्रीमती मगियालाई ‘कम्प्युटर अपरेटर’ पदमा रोजगारीको व्यवस्था मिलाइएको हो ।
बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij