Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकभरिका सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ । रास्वपाको सचिवालय बैठकले यस सम्बन्धमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो ।
सचिवालय बैठकमा उच्च संवाद समितिले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगतिको बारेमा ब्रिफिङ प्रस्तुत गरेको थियो । बैठकमा नेताहरूले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल गरेका छन् ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको ३ मंसिरको बैठकको निर्देशानुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट बनाउन सचिवालयबाट आवश्यक सहजीकरण गरिने छ ।
सचिवालय बैठकमा निर्णय भएका पाँच मुख्य बुँदा यस प्रकार छन्ः
-विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिद्वारा ब्रिफिङ भएको र सम्भाव्य राजनीतिक ध्रुवीकरण तथा सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक सहजीकरण गर्ने निर्णय ।
-पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेका रिक्त पदहरू भर्न योग्य सदस्यहरूको नाम सिफारिस गर्न केन्द्रीय समितिसँग अनुरोध गर्ने निर्णय ।
-प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय ।
-सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय ।
-कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij