Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सप्तरी प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । नगरपालिका–२, भेडिया नजिक गाईघाट–कदमाहा सडकखण्डमा प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय भेडियाका प्रमुख प्रहरी निरीक्षक पूर्णकुमार राईको कमान्डमा खटिएको टोलीले कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको हाइलक्स गाडीलाई चेकजाँच गर्ने क्रममा २३ लाख रुपैयाँ, विभिन्न इलेक्ट्रोनिक उपकरण बरामद भएको हो । बरामद रकममा एक हजार दरका एक हजार ३९९ थान र पाँच सय दरका एक हजार ८०२ थान नोट छन् ।
गाडीमा सवार दुई जना व्यक्ति नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय किरण सिटौला र सोही गाडीमा सवार १८ वर्षीय धिरज प्रसाई छन् ।
त्यसका अतिरिक्त गाडीभित्रबाट टेकोन पम्प एक सय थान, टीएनइएच ब्याट्री ३४ थान, लिथियन ब्याट्री एक थान, ई–रिक्सा मोटर तीन थान, स्कुटर ब्याट्री चार्जर सात थान, ब्याट्री टेस्टर एक थान र सानो हर्न स्पिकर एक थान फेला परेको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको उक्त रकम र सामग्रीसहित पक्राउ परेका दुवै जनामाथि बैक तथा वित्तीय संस्था सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij