Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । जेनजी आन्दोलनको उत्तेजनामा देशका विभिन्न जेलहरूबाट हजारौं कैदी फरार भए । आधिकारिक तथ्यांकअनुसार, नेपालका १३५७२ कैदीहरू जेल तोडेर भागेका थिए, जसमध्ये धेरैजसो सीमावर्ती क्षेत्रतर्फ लागेका थिए । जलेश्वर जेलबाट ५७६ कैदी फरार भएका थिए, जसमध्ये ५३ जना स्वयं फर्किएका छन् । यस्तै, नवलपरासी र मोरंग जेलहरूबाट पनि सयौं कैदीहरू भागे, जसले भारतको सीमावर्ती जिल्लाहरूमा चोरी र अपराधका घटना बढायो । पिथौरागढ र मधुबनी जस्ता भारतीय जिल्लाहरूमा फरार कैदीहरू पक्राउ परेका छन् ।
यस्तो अवस्थामा ललितपुरका टोलवासीहरूले आफ्नो क्षेत्रको सुरक्षाको जिम्मेवारी लिन थाले । खुमलटार, इमाडोल र सिन्चाहिटीका बासिन्दाहरूले रातदिन गस्ती टोली गठन गरेका छन् । इमाडोलमा मात्रै गएको हप्ता एक घरबाट ३ लाख ३० हजार नगदसहित ल्यापटप र मोबाइल चोरी भएको थियो । यस घटनाले टोलवासीहरूलाई झनै सतर्क बनायो । स्थानीय युवाहरूको नेतृत्वमा बनेका गस्ती टोलीहरूले राति १० बजेपछि सडक र गल्लीहरूमा घुम्छन् । उनीहरूका हातमा टर्चलाइट, भिडियो क्यामरा र आपत्कालीन साइरन हुन्छ ।
'कैदीहरू फरार भएपछि हामीले प्रहरीलाई मात्र निर्भर नभई आफैं सक्रिय हुनुपर्छ भन्ने लाग्यो,' सिन्चाहिटीका पुरुषोतम मानन्धरले भने ।
यो प्रयासले चोरीका घटना केही हदसम्म रोकेको छ । टोलवासीहरूले प्रहरीसँग समन्वय गर्दै गस्तीलाई निरन्तरता दिने योजना बनाएको इमाडोलका विवेक कार्कीले अनलाइन पत्रिकालाई बताए । यो सामुदायिक सुरक्षाको नयाँ मोडेलले नेपालका अन्य क्षेत्रहरूमा पनि फैलिन सक्ने सम्भावना छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij