
Sep 08 2025 | २०८२, भदौ २३ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको आज २०८२ भाद्र २३ गते बसेको बैठकले ‘जेन जी’ पुस्ताका युवाहरुको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहितको निर्णय गरेको छ। सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौं, यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भने,‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !’
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij